काठमाडौ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।
कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् ।