काठमाडौ, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना भएको छ । दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यलाई उद्धार गरिएको छ । उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।’ बुधबार करिब ११ ः११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै तल भुईँमा बजारिएको थियो ।
दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे–७ जहाज दुर्घटनामा परेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०२४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे–७ (९एन–एएमई) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।’
त्यस्तै प्राधिकरणले तत्कालै उद्धार कार्य सुरु गरी १ जना घाइतेलाई अस्पताल पुर्याइएको जनाएको छ । जहाजका चालक मनिषरत्न शाक्यको उद्धार गरी केएमसी शिक्षण अस्पताल लगिएको छ । क्यानको विज्ञप्तिमा अगाडि भनिएको छ, ’तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको जानकारी गराइन्छ ।’
सौर्य एयरलाइन्स दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो ।