काठमाडौं, ९ साउन । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय छानविन आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।
आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन आन्तरिक वायु सेवा चलाइरहेका सबै वायुसेवाले नियमित हवाई परीक्षण गराउनुपर्ने र त्यसको नेपाल नागरिक उड्डयान प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय समेत भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बताए ।