आर्थिक मन्दीका कारण सुनसरीमा २०४ उद्योग बन्द

Logo
Popular News बुधबार, साउन १६, २०८१

इनरुवा, १६ साउन । सुनसरीमा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी २०४ उद्योग २०८०/८१ मा खारेजीमा परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन् ।

“आर्थिक मन्दीको असर भन्दै केही उद्योग बन्द भएको र केही खारेजी गरिएको भए पनि नयाँ उद्योग खुल्ने क्रम चलिरहेको घरेलु तथा साना उद्योग कार्यालय सुनसरी प्रमुख हरि लामिछाने जानकारी दिए ।

उनका अनुसार २०८०/८१ मा सुनसरीमा ५६६ नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिँदा कार्यालयले १८ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले उद्योगतर्फ एक करोड एक लाख ७४ हजार २६०, वाणिज्यतर्फ एक करोड १२ लाख ५७ हजार ५४० र बिक्री आयबाट ७० हजार गरी कुल दुई करोड १५ लाख एक हजार ८०० रुपैयाँ राजस्व संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।

गत आवमा सनुसरीका १२४ साना तथा मझौला उद्योगले पुँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायले ४४ करोड ५३ लाख १३ हजार पुँजी वृद्धि गरेका हुन् । गत आवमा घरेलु कार्यालय सुनसरीले दुई करोड १५ लाख एक हजार ८०० राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको संख्या कम देखिएको छ । गत आव २०८०/८१ मा एक हजार ३५२ उद्योगले मात्रै नवीकरण गरेका छन् । उद्योग दर्ता तथा नवीकरणवापत कार्यालयले ६७ लाख आठ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800