इनरुवा, २० साउन । खानेपानी महशुल वृद्धि गरिएकोबारे उपमेयर अइन्द्रबिक्रम बेघासहितले धरानका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापन पत्र बुझाएका छन् । मेयर राई (साम्पाङ) खानेपानी बोर्डका अध्यक्षसमेत हुन ।
शुक्रवार महशुल वृद्धि बिरुद्ध आन्दोलनरत १० राजनीतिक दलहरुल महशुल साविककै कायम गर्नुपर्ने भन्दै सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही ध्यानाकर्षण पत्र लिएर उपमेयर बेघासहित वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) र वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले मेयर साम्पाङलाई पत्र बुझाएका हुन् ।
नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा १७ का अध्यक्ष भट्टराईले खानेपानीको मुल्यवृद्धि फिर्ता गर्न माग गरेर वडामा आएको ध्यानाकर्षण पत्र मेयरलाई बुझाएको बताए । उनले भने,‘वडा कार्यालयहरुमा ज्ञापन पत्र बुझाइएको थियो । त्यही ज्ञापनको ध्यानाकर्षण पत्र मेयलाई बुझाएको हो । मुल्यवृद्धि फिर्ता होस् भन्ने जनताको चाहना छ, त्यसमा हाम्रो समर्थन छ भनेर बुझाएका हौं ।’
धरानमा खानेपानी बोर्डले खानेपानी महशुल वृद्धि गरिएकोमा महशुल फिर्ता गर्न माग गर्दै चौतफि बिरोध भईरहेको छ ।