सुनसरी, २४ साउन । धरानमा खानेपानीको महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दलको अगुवाईमा धरान उपमहानगरपालिकाको कार्यालय घेराउ भएको छन् ।
प्रदर्शनकारीहरुले बिहीबार कार्यालय समय अगावै उपमहानगरपालिका कार्यालयको गेटमै भेला भएर घेराउ गरेका हुन ।
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच धकेला धकेल भएको छ ।
उपमहानगरको गेटबाट भित्र छिर्न खोजेका प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरीसँग सामान्य झडप भएको हो । प्रदर्शनकारीले चर्को नाराबाजी गर्दै आन्दोलन चर्काएपछि कार्यालय परिसर भित्रै थुनिएका नगरप्रमुख साम्पाङले आन्दोलनरत पक्षका प्रतिनिधिहरूलाई आइतबार वार्ताको लागि बोलाएका छन् ।
महसुल बढाइएपछि विभिन्न १० राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । साउन ११ गते धरानमा क्रियाशील रहेका राजनैतिक दलले खानेपानीको महसुल पुरानै कायम गर्न माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए । अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि राजनैतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन । उनीहरूले यसअघि खानेपानीको पुरानै महसुल कायम गर्न माग गरेका छन् ।