कोशी प्रदेशको दोस्रो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक

कोशी प्रदेशको आवधिक योजना एवं नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन : मुख्यमन्त्री कार्की
Logo
Popular News बिहिबार, साउन ३१, २०८१

विराटनगर, ३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गइरहेकोले तालमेल नमिलेको बताएका छन् ।
कोशी प्रदेश योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रूपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेटको तालमेल मिल्न नसकोको बताउँदै अबका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

आवधिक योजनालाई अबको केही दिनमा नै कर्मचारी, सांसद सबैको हात हातमा पुर्याउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारी र सांसदहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिए । आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलाउनको लागि सबैले अध्ययन गरेर सोही अनुसारको योजना मात्र अगाडि सार्नुपर्ने उनको भनाइ छ । आगामी दिनमा सोही अनुसार अगाडि बढ्न पनि उनले आग्रह गरे।

आवधिक योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७.५५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० मा २.३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक वर्ष २०८०/०८१ मा ३.५१ प्रतिशत थियो ।

बिहीबार सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५÷०८६ मा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन १६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा १२९९ अमेरिकी डलर थियो भने आर्थिक वर्ष २०८०/८१ मा १३३६ अमेरिकी डलर थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८५/८६ सम्ममा गरिबीको रेखामुनी रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १७.५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका थिए भने गएको आर्थिक वर्षमा यसमा ०.३० प्रतिशत घटेर १७.२० प्रतिशत पुगेको छ ।
यसैगरी अहिले १० प्रतिशत रहेको बेरोजगारी दरलाई आर्थिक वर्ष २०८५/८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

सार्वजानिक गरेको योजनामा आर्थिक वर्ष २०८५/०८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ वर्षको हुने अनुमान गरिएको छ । मातृ मृत्यु दर (प्रतिलाख जीवित जन्ममा) ७० मा झार्ने अनुमान गरिएको छ । त्यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) २० मा झार्ने अनुमान गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८५/०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । लैङ्गिक विकासको सूचांक ०.९२ पुर्याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचांक ०.६२ पुर्याउने लक्ष्य छ ।

आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्याउने अनुमान गरिएको छ भने विद्युत् उत्पादन २२०० मेगावाट अनुमान गरिएको छ ।
आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परमाणात्मक लक्ष्य अनुसार कुल ग्रार्हस्थ उत्पादन (उपभोक्ता मूल्यमा) १३१७.९५ अर्बमा पुर्याउने लक्ष्य रहेको छ भने कृषि क्षेत्रको वार्षिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । उद्योग क्षेत्रको वार्षिक वृद्धिदर १०.५६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०८५/०८६ सम्ममा सेवा क्षेत्रको वार्षिक वृद्धिदर ७.४१ प्रतिशत पुर्याउने अनुमान गरिएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ (उत्पादन उपभोक्ता मूल्यमा) १६४५ अमेरिकी डलर पुर्याउने लक्ष्य अनुमान गरिएको छ ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले पञ्चवर्षीय आवधिक योजनाको मुख्य मुख्य आयोजनाहरू प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच ‘सुशासित, खुसी, आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश’ रहेको जानकारी दिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800