काठमाडौ, ३ भदौ । भारतले नेपालसँग थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।
भारतले तोकिएको प्राधिकरणले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको हो ।
सम्झौतापछि भारतले दैनिक ९सय ४१ मेगावाट बिजुली लैजान्छ । कुल स्वीकृत परिमाण ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट ९ सय ४१ मेगावाट (२८ आयोजना) पुग्ने छ ।
यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो ।