सुनसरी, ९ भदौ । सुनसरीको प्रसिद्ध तीर्थस्थल चतरामा लागेको कुम्भ मेलामा भएको आम्दानी र खर्चको विवरण हालसम्म सार्वजनिक नभएको भन्दै स्थानीयले सार्वजनिक गर्न माग गरेका छन् ।
प्राचीन हरिद्धारकारुपमा समेत चिनिने चतराधाममा चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना भएकोमा आम्दानी र खर्चको विवरण सार्वजनिक गर्न स्थानियले माग गरेका हुन ।
मेला आयोजक समितिले पहिलो पटक कुम्भ मेलामा २ करोड २२ लाख ७० हजार ५ सय ६ रुपैयाँ ४२ पैसा सङ्कलन भएको जनाएको थियो । जसमा १ करोड ४३ लाख ६४ हजार ६ सय ५३ रुपैयाँ ६ पैसा खर्च भएको समितिले जनाएको छ । तर सो पैसा कुन कुन शीर्षकमा कति कति खर्च भयो भन्ने चाहिँ समितिले भन्न सकेको छैन । यस अघि कुम्भ मेलाको आयोजनाबाट ७९ लाख ५ हजार ८५ सय २ रुपैयाँ ८२ पैसा नाफा भएको हिसाब सार्वजनिक गरेको थियो । मेलामा आएका भक्तजनहरूले रसिद काटेर आर्थिक सहयोग गर्ने गरेका थिए ।
मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट सर्वसाधारणको सहभागिता रहेको आयोजकले दाबी गरेको छ । मेलामा ३० लाख भक्तजन आउने अपेक्षा गरिएकोमा अपेक्षा गरे भन्दा दोब्बर भक्तजन आएको मेला आयोजक समितिले दाबी गरेको थियो ।
कुम्भ मेलाका लागि स्थानीय, सरकार र प्रदेश सरकारले समेत आर्थिक लगानी गरेको थियो । कुम्भ मेलाको भएको आम्दानी र खर्चको विवरण सार्वजनिक नभएको भन्दै स्थानीय पत्रकार र चतरा क्षेत्रका सामाजिक अगुवाले असारमा सूचना माग गरेका थिए ।
सूचना माग गर्दा पनि माग गरिएको विवरण कुम्भ मेला आयोजक समितिले उपलब्ध नगराएपछि चतरामा आइतबार स्थानीयले विवरण उपलब्ध गराउन दबाब मूलक कार्यक्रम समेत गरेका छन् । सूचनाको हक प्रयोग गरे निवेदन दिँदा समेत सूचना नपाएपछि स्थानीयले दबाब मूलक ¥याली निकालेको पत्रकार नवराज विष्टले बताए ।
कुम्भ मेलामा प्रचार प्रसार समितिका लागि अनुमोदित विल, गुरु भेटी शीर्षकमा भएको खर्च र विल भरपाई, पण्डाल निर्माण गर्नेलाई दिएको भुक्तानीको विवरण माग गरिएको तर आयोजक समितिले उपलब्ध नगराएको विष्टले बताए ।
महाकुम्भ मेला मूल आयोजक समितिका सह अध्यक्ष तथा बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले हिसाब सार्वजनिक भएको दावी गरे ।