इनरुवा, १७ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती देशभर आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
वि.सं.१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको वि.सं.१९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो ।
भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नुभएको योगदान अतुलनीय छ ।