मोरङ्गको एक गाउँलाई वातावरण मैत्री बनाउँदै जीवन विकास

Logo
Popular News मंगलबार, माघ ०२, २०८०

विराटनगर, २ माघ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिकाको एउटा गाउँलाई इको भिलेज (वातावरण मैत्री गाउँ) बनाउने भएको छ । धनपालनान गाउँपालिका– ३ र ४ मा पर्ने वेतौना गाउँलाई ‘इको भिलेज’ बनाउने भएको हो ।

वेतौनामा दुई सय घर धुरी छन् । उनीहरूको पेशा परम्परागत कृषि हो । दुई सय परिवारको आर्थिक हैसियत दुई वर्षमा सुधार गर्ने उद्देश्यले लघुवित्तले इको भिलेज निर्माणको काम सुरु गरेको हो ।

स्थानीयको आर्थिक हैसियत उकास्न लागि पाँच वटा सूचकमा काम थालिएको लघुवित्तका नायब कार्यकारी अधिकृत दामोदर रेग्मीले बताए । उनका अनुसार आर्थिक, प्राविधिक, सीप विकास, बजारीकरण र वातावरण संरक्षणका लागि लघुवित्तले काम गर्नेछ ।

रेग्मीका अनुसार गाउँका बासिन्दाका लागि पशुपालन र तरकारी खेतीका लागि सहुलियत व्याजमा संस्थाले ऋण उपलब्ध गराउनेछ । किसानले पालेका पशुको बिमा र उपचारमा संस्थाले सहयोग गर्नेछ । खेतीका लागि किसानको सीप विकासमा काम गर्नेछ । किसानले उत्पादन गरेको दूध र कृषि उपजको बजारीकरणमा संस्थाले सहजीकरण गरिदिनेछ ।

गैर नाफा मूलक संस्था जीवन विकास समाजले धनपालथान मै प्राङ्गारिक मल र बायोग्यास उद्योग स्थापना गरेको छ । करिब १० करोड लागतमा स्थापित उद्योगले गाउँका किसानबाट गोबर खरिद गर्ने योजना बनाएको छ । गाउँमा कच्चा पदार्थ नभेटेका कारण उद्योगले विराटनगर र आसपासका क्षेत्रबाट गोबरलगायतको कच्चा पदार्थ संकलन गरिरहेको छ ।

वातावरण संरक्षणका लागि संस्थाले स्थानीयलाई धुवाँरहित विद्युतीय चुल्हो प्रयोगका लागि प्रोत्साहन गर्नेछ । कृषि र पशु पालनको आम्दानीले किसानको जीवनस्तर उकास्ने रेग्मीले बताए । ‘पशु पालनका लागि सहुलियत ऋण दिने र दूध र गोबर बिक्रीबाट किसानले आम्दानी गर्छन,’उनले भने,‘ आम्दानी बढेपछि जीवनस्तरमा सुधार आउनेछ ।’

स्थानीय किसानसँग छलफलका क्रममा जीवन विकासका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले दुई वर्ष भित्र वातावरण मैत्री नमुना गाउँ बन्ने बताए । वेतौनापछि धनपालनाथ गाउँपालिका र मोरङ क्षेत्र नम्बर ५ लाई नै नमुना बनाउने योजना रहेको उनले बताए ।

कृषि र पशुपालनमा आत्मनिर्भर बनाउनका लागि गाउँलाई इको भिलेज बनाउन लागिएको उनको भनाई छ । ‘ भोलि कसैले उदाहरण दिदा मोरङ क्षेत्र नम्बर ५ जस्तो बनाउँछु भन्ने गरी नमुना बनाउने योजना छ,’ उनले भने,‘ पहिलो चरणमा वेतौना गाउँलाई इको भिलेज बनाउन साथ दिनुहोस्, त्यसपछि वडा र पालिका हुँदै क्षेत्रलाई बनाउनुपर्छ ।’

मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ का सांसद गयानन्द मण्डलले किसानको जीवनस्तर उकास्ने इको भिलेजको योजना कार्यान्वयनका लागि गाउँका नागरिक अग्रसर हुनुपर्ने बताए । सहुलियत ऋण र बजारीकरणको जिम्मा संस्थाले नै लिने भएकाले किसानलाई फाइदा पुग्ने उनले बताए ।
धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले जीवन विकासले अघि सारेको इको भिलेजको योजनामा पालिकाले सहकार्य गर्ने बताए । कृषि र पशु पालक किसानका लागि प्राविधिकसँगै अन्य सहयोग गर्ने उनले बताए । सबैको उद्देश्य किसानको जीवनस्तर उकास्ने रहेको बताउँदै वातावरण मैत्री गाउँको योजनाले वेतौनाको जीवनस्तर सुधार गर्ने बताए ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि इको भिलेजको योजना अघि सारेको बताए । पहिलो चरणमा वेतौनाबाट इको भिलेज कार्यक्रम सुरु गरेको बताउँदै उनले अन्य क्षेत्रमा पनि विस्तार गर्ने बताए । ‘सामाजिक जिम्मेवारीसहित समुदायलाई आत्मनिर्भर तथा वातावरण मैत्री बनाउनका लागि यो योजना सुरु गरेका छौं,’ उनले भने,‘ग्रामीण क्षेत्रको विकासका लागि यो कार्यक्रम अपरिहार्य छ ।’

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800