काठमाडौँ, १९ माघ । सरकारले ‘र्स्टाटअप’ उद्यम कर्जाको लागि प्रस्ताव माग गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार जारी गरेको सूचनाअनुसार २१ दिनभित्र सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव पठाइसक्नु पर्नेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ११ मा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको थियो । कार्यविधि स्वीकृत गरेसँगै प्रतिष्ठानले ‘स्टार्टअप’ उद्यम कर्जाका लागि प्रस्ताव आहृवान गरेको हो । सरकारले स्टार्टअपका लागि चालु आर्थिक वर्ष २५ करोड रुपैयाँ बजेट छुट्याएको छ। सरकारले ३ प्रतिशत ब्याजदरमा परियोजना धितो राखेर अधिकतम २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।
कार्यविधि अनुसार स्टार्टअप उद्यमका रुपमा १६ क्षेत्रमा स्टार्टअप कर्जा लिन सकिने छ । कृषि तथा पशुपन्छी, वन पैदावर, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा परिवहन, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित क्षेत्रमा समेत स्टार्टअपलाई मान्यता दिइने भएको छ ।