इनरुवा, ८ फागुन । नक्कली नोट सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिने ट्राफिक जवानलाई माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले ट्राफिक प्रहरी कार्यालय इनरुवामा कार्यरत लाल बाबु रायलाई TRAFFIC POLICE OF THE MONTH घोषणा गरेको हो ।
उनेले माघ २८ गते अन्दाजी १० बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा नगरपालिका वडा नं. ४ स्थितमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको BR11X 3429 नं.को स्कार्पियो गाडि माथी शंका लागी चेकजाँच गर्ने क्रममा गाडिको डिकि भित्र सेतो प्लाष्टिकको बोरा भित्र चावी लगाएको स्पोर्ट लेखिएको झोला खोलि हेर्दा रु १ करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद भएको थियो ।
यस्तै चालक भारत बिहार राज्य सुपौल जिल्ला बिरपुर वडा नं. ५ बस्ने बर्ष २२ को छोटु भन्ने मोहमद सैयाद साफि सहित उक्त BR11X 3429 नं.को स्कार्पियो गाडि नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरी चौकी बबियाविर्ता मोरंङ दरबन्दी भई तत्काल ट्राफिक प्रहरी कार्यालय ईनरुवा सुनसरीमा कार्यरत प्रहरी जवान लाल बाबु राय लाई उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङकन गर्दै २०८० साल माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी (TRAFFIC POLICE OF THE MONTH ) घोषणा गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।
विभागिय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी आफ्नो जिम्मेवार क्षेत्रमा संचालन हुने सवारी साधनका चालकलाई लक्षित गरी ट्राफिक जनचेतनामूलक कार्यक्रम मार्फत चालक प्रशिक्षित गराई उक्त क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो ।
हालसम्मकै ठुलो परिणाममा नक्कली नोट बरामद भएको सम्बन्ध सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।