काठमाडौं, २१ फागुन । सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन् । नवनियुक्त बिना विभागीय मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।