निर्वाचन आयोगले दिएन रेशम चौधरीलाई नाउपाको अध्यक्षमा मान्यता

Logo
Popular News बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ । नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो । तर निर्वाचन आयोगले नाउपाको अधयक्षमा चौधरीलाई अध्यावधिक गर्न अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निवेदन दिएको थियो ।

उक्त निवेदनमाथि निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको छ । निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् ।

कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए ।

उनले निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध दुईवटा उजुरीसमेत परेका थिए । त्यसमा चौधरी ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका व्यक्ति हुनाले दलको अध्यक्ष बन्नु कानुन विपरीत भएको उल्लेख थियो । उजुरी परेपछि आयोगले नाउपा र अध्यक्ष चौधरीसँग जवाफ मागेको थियो ।

त्यस विषयमा चौधरीले जवाफ पठाएपछि बिहीबार दलको अभिलेख अद्यावधिक गर्न नसक्ने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800