विराटनगर, ४ चैत । मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा बस्ती नै सखाप भएको छ । आगलागीबाट एउटै बस्तीको २३ परिवार बिचल्ली परेको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङकाले जनाएको छ । हावा चलेको कारणले आगो निभाउन कठिन भएको र टोलमा रहेका सबै घर जलेको प्रहरीले बताएको छ ।
मोरङ प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको छ । शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको छ । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो ।
बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर थिए । केही घरहरु इँटाको सामान्य गाह्रो लगाएर बनाइएका थिए । बाँस, सन्ठी र पराल मिलाएर बनाइएका घरमा आगो छिटो फैलिएको र हावाहुरी चलेकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ ।