धनकुटा, १४ चैत्र । कोशी प्रदेशको मन्त्रिपरिषद बैठक प्रत्येक महिनाको एक पटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सम्पर्क कार्यालय धनुकटामा बस्ने निर्णय भएको छ । मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा प्रथम पटक बसेको बैठकले निर्णय गरेको हो । लामो समय देखि धनकुटामा सम्पर्क कार्यालय खोले पनि मन्त्रीपरिषदको बैठक बस्न सकेको थिएन ।
बृहत् विराट क्षेत्रको अवधारणा अनुसार प्रदेशको राजधानी विराटनगर घोषणा गरे पनि त्यसको प्रत्याभूत नभइरहेका बेला मुख्यमन्त्री कार्कीको नेतृत्वमा पहिलो पटक मङ्गलवार धनकुटामा मन्त्रिपरिषद् बैठक बसेको हो ।
२०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्रिपरिषद्को बैठक बस्ने र महत्त्वपूर्ण निर्णय गरिने जनाए पनि उक्त कार्यालयमा बैठक भने बसेको थिएन । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री नियुक्त भएसँगै धनकुटामा रहेको सम्पर्क कार्यालयबाट पनि जनताका काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
पहिलो मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
१. स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्दै प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई कोसेलीको रूपमा केही वस्तुहरू दिनुपर्दा, कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दा र कर्मचारीको स्वागत तथा बिदाइ गर्दा प्रदान गरिने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने ।
२. खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने ।
३. मन्त्रिपरिषद्को बैठक महिनाको एक पटक धनकुटामा बस्ने ।
प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक
मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमै प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको छ । बैठकले आगामी जेठ ७, ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसको लागि निर्देशक समिति गठन गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाका अनुसार बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजश्व बाँडफाँडको लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समितिसमेत गठन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।