विराटनगर, ३ बैशाख । कोशी प्रदेशसभाको सचिवमा गोपालप्रसाद पराजुलीको पुनः नियुक्ति भएको छ । वैशाख ९ गतेबाट लागू हुनेगरि सोमबार पुनःनियुक्ति भएको हो । उनले वैशाख ८ गतेबाट ५ वर्षे कार्यकाल पुरा गरेर अवकास हुन लागेकाले पुनः नियुक्ति भएका हुन ।
सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले पराजुलीलाई पुनः नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सभामुख विष्टको सिफारिशमा प्रदेश प्रमुखले पराजुलीलाई सचिवमा नियुक्ति गरेका हुन ।
२०७६ वैशाखमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएका पराजुलीलाई लगत्तै प्रदेशसभाको सचिव नियुक्त गरिएको थियो । प्रदेशसभा सचिवको पदावधि ५ वर्षको हुने कानुनी व्यवस्था छ ।
कार्यकाल पुरा गरेपछि पनि पुनः एक कार्यकाल पुनःनियुक्ति हुनसक्ने कानुनी प्राबधान अनुसार पराजुलीले निरन्तरता पाउने भएका हुन् । उनले अब करिब अढाइ वर्ष प्रदेशसभाको नेतृत्व गर्नेछन् । त्यसपछि भने ६५ वर्षको उमेर हदको कारण उनले अनिवार्य अवकास पाउनेछन् ।