विराटनगर, ३ बैशाख । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार विरुद्ध प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । दुई दलले वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने व्यहोरा सहितको संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनैपनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने व्यहोरा संकल्प प्रस्तावमा उल्लेख छ । राजीनामा वा विश्वासको मत परीक्षण नभए प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि अगाडि बढ्न उपयुक्त हुने सन्देश पनि संकल्प प्रस्ताव मार्फत मुख्यमन्त्री कार्कीलाई दिन खोजिएको छ ।
प्रदेशसभा नियमावली २०७४ (पहिलो संसोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधिनमा रहेर सोहि नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको हो ।