कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित

Logo
Popular News शुक्रबार, बैशाख ०७, २०८१

विराटनगर, ७ बैशाख । कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।

सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना प्रक्रियामा सामेल नभएको तथा मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए ।

सभामुखबाट हुन्छ र हुन्न भन्ने मत निर्णायार्थ पेस भए पनि विपक्षी सङ्कल्प प्रस्ताव पेस गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सख्या नै किटान गर्नु पर्ने प्रस्ताव राखेका थिए ।

एमाले र माओवादी केन्द्रले राखेको प्रस्ताव उपर सत्ता पक्षीय दल नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले निर्णायार्थ प्रस्तुत भएको विषयलाई मत विभाजन गर्नु नपर्ने बताएका थिए । लगत्तै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले समेत सोही विषय दोहोर्याएका थिए । प्रदेश सभा नियमावलीमा भएको व्यवस्था भन्दै सभामुख बिष्टले मत विभाजनको लागि संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

प्रस्तावकको माग अनुसार हुन्छ, हुन्न र तटस्थ बस्छु भन्ने सांसदहरूको मत विभाजन गर्दा हुन्छ भन्ने सांसदहरू ५२ जना भएका छन् भने हुन्न भन्ने प्रस्तावमा सत्ता गठबन्धनका कोही सांसद उठेनन् । दुई पटकसम्म सभामुखले आग्रह गर्दा समेत सङ्कल्प प्रस्ताव पारित हुनुहुन्न भन्नेमा काँग्रेस सांसदहरू नउठेपछि, तटस्थ बस्छु, मत दिन्न भन्ने प्रस्तावमा उठ्न आग्रह गर्दा ३ जनाले मतमा तटस्थ बस्छु भन्ने प्रस्तावमा उपस्थिति देखाएका छन् । बहुमत सदस्यले सङ्कल्प प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा मत दिएपछि सो प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

सभामुखले सङ्कल्प प्रस्ताव पारित भएसँगै प्रदेश सभाको विशेष अधिवेशन आह्वान हुनुको औचित्य सकिएको भन्दै अधिवेशन अन्त्य भएको घोषणा पनि गरे ।

के छ सङ्कल्प प्रस्तावमा

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की अल्पमतमा रहेकाले उनलाई विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्नेलगायतका विभिन्न मागसहित संकल्प प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई एमालेका किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका गणेश उप्रेतीले समर्थन गरेका थिए ।

उक्त संकल्प प्रस्तावमा भनिएको छ, ‘माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी एमाले र माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिई सरकारबाट फिर्ता भइसकेको र बहुमत प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा समर्थन फिर्ता लिएको मिति २०८० चैत २६ को मितिले संविधानकोे धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस् ।’

प्रदेशसभाको बहुमत सदस्यको समर्थन फिर्ता भइसकेकाले सरकारको नियमित कामबाहेक दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई निर्देशन दिन पनि माग गरिएको थियो । ।

त्यस्तै मुख्यमन्त्रीले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न कोशी प्रदेशसभा सचिवालयलाई निर्देशन दिने पनि संकल्प प्रस्तावमा उल्लेख छ ।

संकल्प प्रस्तावमा अगाडि भनिएको छ ,‘प्रदेशसभाको यो बैठक वैकल्पिक सरकार गठन गर्न यो प्रदेशसभा सक्षम रहेको प्रतिवद्धता व्यक्त गर्दै यो विषयमासमेत प्रदेश प्रमुख समक्ष सन्देश प्रवाह गर्न कोशी प्रदेशसभा सचिवालयलाई पुनः निर्देशन गरियोस् ।’

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800