काठमाडौं, ८ बैशाख । नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक सुरु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् ।
उक्त बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । एमालेमा महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ । अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा अन्यदल माथी आरोप लगाएको छ ।
बैठकमा अध्यक्ष ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल नहुने बताएका छन । आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन उनले आग्रह गरेका छन ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटना भएको बताउदैे राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रियतावादी शक्तिका रुपमा र कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिका रूपमा चर्चा गरेका छन् ।
दुवै पार्टीको गत निर्वाचनमा भएको उदय र शक्ति बिस्तार नयाँ र विवेचनाको विषय भएको अध्यक्ष ओलीको भनाइ छ । निर्वाचन परिणामकै कारण आज मुलुकले ठूलो मूल्य चुकाउनु परेको उल्लेख गर्दै राष्ट्र र जनताको पक्षमा काम गर्न एमालेले सकारात्मक शक्तिहरुलाई साथमा लिएर अघि बढ्न जरुरी रहेको ओलीको भनाइ छ ।
’निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रुपमा रहेका छन् । यस बीचमा बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ,’ओलीले भनेका छन् । जनतामा देखिएको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ ।
’उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर उनीहरुसँग यसको समाधान भने छैन,’ अध्यक्ष ओलीले भनेका छन् । लोकतान्त्रिक गणतन्त्रको विकल्प कुनै पनि खालको निरंकुशता हुनै नसक्ने पनि उनको भनाइ छ ।