इनरुवा, १५ बैशाख । गर्मी महिना लागेसँगै आगलागीका घटना अत्याधिक बढेको छ । गर्मी महिनामा हावाहुरी पनि चल्ने हुनाले सानो आगोको झिल्कोबाट नै भिषण आगलागी हुने गरेको छ । सुनसरीमा पनि आगलागीको घटना बढेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्ज स्थित सिसौ टोलमा १२ बैशाखमा आगलागीहुदा १५ घर जलेर नष्ट भयो । स्थानीय जियान्दन मेहताको घरमा विधुत सर्ट भएर सल्केको आगोले रामदेव मेहताको दुई वटा घर सहित स्थानीय ७ परिवारको १५ घर जलेर नष्ट भएको र आगलागीबाट ५० लाख बढीको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।
त्यस्तै पछिल्लो समय सुनसरीको बर्जु, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकाहरुमा आगलागीले ठुलो मात्रमा धनजनको क्षति भएको छ भने आगलागीबाट पिडित परिवारको विचल्ली भएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका ६ को जरलहवामा १३ बैशाखमा परालको कुन्युमा सानो झिल्कोबाट सुरु भएको आगोले गाउँ नै सखाप बनायो । त्यस गाँउको आगलागीबाट १ सय २० घर जलेर नष्ट भयो । आगोले पशुचौपाय समेत गोठ जले । करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
पछिल्लो समय देशैभरि आगलागी र डढेलोका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार २०८० फागुन १ गतेदेखि २०८१ वैशाख १४ गतेको अवधिमा आगलागी र डढेलोका १ हजार ९८४ घटना भएका छन् । यी घटनामा परी ४३ जनाको ज्यान गएको छ ।
पछिल्लो एकहप्तामा मात्रै देशभर १८८ ठाउँमा आगलागी र १४४ ठाउँमा डढेलो लागेको छ । वैशाखयतामात्रै आगलागीबाट ७ जना र डढेलोबाट एकजना गरी ८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई महिनाको अवधिमा मात्रै ८७ करोड बराबरको धनमाल क्षति भएको छ ।
आगलागीबाट १३ बैशाखसम्म ७ सय १९ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने ४ सय २२ वटा घर आंशिक क्षति पुगेको छ । आगलागीजन्य घटनाबाट २ हजार ४१९ परिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।
सुनसरीमा फागुन यता आगलागीजन्य ७२ घटना भएका छन् । घटनाबाट एकजनाको मृत्यु भएको छ भने १०९ परिवार प्रभावित बनेका छन् । जसबाट २ करोड ९७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको केन्द्रले जनाएको छ ।
फागुनयता भएका आगलागी घटनाबाट तथ्यांकअनुसार मोरङ सबैभन्दा धेरै प्रभावित भएको छ । १३ बैशाखसम्म मोरङमा मात्रै ९३ वटा घटना भएका छन् । आगलागीबाट मोरङमा मात्रै १ सय २२ परिवार प्रभावित भएका छन् ।
आगो नियन्त्रणमा मुख्य भुमिका
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दमकल जस्तो अत्यावश्यक उपकरणको सञ्चालन गर्ने जिम्मा स्थानीय सरकारलाई नै दिएको छ । त्यस्तै, विपद् जोखिम तथा न्यूनीकरण ऐन, २०७४ ले पनि दमकलको सञ्चालन गर्ने जिम्मा स्थानीय तहहरुलाई नै दिएको छ । नेपालको वार्षिक बजेटमा पनि प्रत्येक स्थानीय तहमा दमकल राख्नुपर्ने भनी व्यवस्था गरेको छ । यस्तो अत्यावश्यक उपकरण दमकललाई बाँकी रहेका सबै स्थानीय तहहरुले खरिदको प्रक्रिया चाडो अगाडि बढाउनुपर्ने देखिन्छ । जुन स्थानीय तहहरुमा दमकलको व्यवस्था छ ती स्थानीय तहहरुले दमकललाई तयारी अवस्थामा राखेर सञ्चालन गर्नुपर्दछ । स्थानीय तहलाई दमकल सञ्चालनको जिम्मा दिएता पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई पनि दमकलको व्यवस्था गर्नुपर्दछ । ती सूरक्षा निकायका मानिसहरु आगलागी तथा अन्य विपत्ति परेको बेलामा सबैभन्दा छिटो पुग्ने तथा अग्रपक्तिमा रहेर काम गर्नुपर्ने भएको हुँदा ती सुरक्षा निकायलाई पनि दमकलको व्यवस्था गर्न सकेमा अझै प्रभावकारी हुने देखिन्छ ।
आगलागी हुनुका मुख्य कारणहरु
आगलागी विभिन्न कारणहरुबाट हुने गर्दछ । जस्तैः बिजुलीको तार सर्ट हुनु, भान्साबाट आगो उत्पन्न हुनु, खाना पकाउने ग्यास लिख भई आगो उत्पन्न हुनु, एक स्थानबाट बलेको आगो अन्यत्र सल्किनु, सलाई, लाइटरको लापरवाहीपूर्ण प्रयोग, लामखुट्टे धपाउने धुप बाल्नु, सवारीसाधनमा अचानक आगो लाग्नु र थे्रसरबाट गहुँ झार्ने क्रममा अचानक आगो निस्किई आगलागी हुनु तथा अन्य विभिन्न कारणहरुका कारणले गर्दा आगलागी हुने गरेका छन् । चट्याङ लगायतका कारणहरुबाट पनि आगलागी हुने सम्भावना बढिरहेको छ । ती विभिन्न कारणबाट हुने आगलागीका कारण ठूलो जनधनको क्षति हुने गरेको पाइन्छ । हाम्रो थोरै हेलचेक्र्याइले गर्दा करोडौंको नोक्सानी हुने गर्छ ।
आगलागीबाट बच्नसक्ने मुख्य उपायहरु
आगलागीका घटनाहरुबाट बच्नको लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । जस्तैः सलाई, लाइटर जस्ता आगोजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्ने, घरको शयनकक्ष वा अन्य आवश्यक स्थानहरुमा स्मोक डिटेक्टर राख्ने, अनिवार्य रुपमा घरमा फायर इट्रिङ्गेसर राख्ने तथा कसरी प्रयोग गर्ने भन्ने कुरा परिवारका सबैलाई जानकारी गराउने । आगलागी भएको अवस्थामा घरभित्र नलुक्ने तथा परिवारका सबैलाई चाडो बाहिर निकाल्ने, धँुवा भएको स्थानबाट बाहिर निस्कँदा घोप्टो परेर वा घस्रेर निस्कने, लगाएको कपडामा आगोले भेट्यो भने कदापि नदौडिने दौडदाखेरी आगो अझ बढि बल्ने हुँदा कपडामा लागेको आगो निभाएर मात्रै दौडने र आगलागी भएको जानकारी हुनसाथ प्रहरी कन्ट्रोल १०० वा दमकल सेवा १०१ तथा स्थानीय प्रहरीहरुलाई जानकारी गराउनु पर्दछ ।
तीनै तहका सरकारले आगलागी जस्तो विपद व्यवस्थापनको लागी जनचेतना फैलाउने र आगलागी भएमा छिटो नियन्त्रणमा लिनका लागी आवश्यक स्रोत साधनको व्यवस्थापन र परिचालन गर्नु पर्ने र आगलागी पिडितहरुको राहत र पुर्नरस्थापनाका लागी प्रभावकारी भुमिका खेल्नु पर्ने विपद व्यवस्थापन विज्ञहरुको भनाई छ ।