विराटनगर, २२ बैशाख । कोशी प्रदेश सरकारले भेटेरीनरी अस्पताल विहीन रहेको ६ जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बुमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।
यसअघि कोशीका इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पतालविहीन थिए । यो निर्णय भएसगै अव कोशी प्रदेशका १४ जिल्लामै कार्यालय स्थापना गर्न सफल भएको उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले बताए ।
यस्तै कोशी प्रदेश सरकारले उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने निर्णय गरेको छ । मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्गमा पर्ने उक्त अस्पतालको स्तरवृद्धी गर्न स्थानीयले माग गर्दै आएका थिए । उक्त अस्पतालमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी र सिरहाका आधा जसो मानिसले सेवा लिन आउने गरेको कृषि मन्त्री खत्रीले जानकारी दिए ।