

विराटनगर, २७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन्।
आज मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को ५ अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन्। कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन्।
कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् । उनीहरू बिनाविभागीय मन्त्री नियुक्त भएका छन।
आज एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। प्रदेश सांसदहरूलाई प्रदेश प्रमुख कार्यालय बोलाएर सनाखत गरिएको थियो।
साथै निवर्तमान मुख्यमन्त्री केदार कार्की भने नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई कुनै काम कारबाही अघि बढाउन नदिन मागसहित सर्वोच्च अदालत पुगेका छन्। उनले प्रदेश प्रमुखले असंवैधानिक रूपमा सरकार गठनको आह्वान गरेको भन्दै आफैँलाई नै यथावत रूपमा काम गर्न परमादेश दिन रिटमा माग गरेका छन्।