

काठमाडौं, २८ वैशाख । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । भ्रष्टाचार आरोपमा पक्राउ परेका उनी जेलमा थिए ।
उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।
भारतमा लोक सभाको सात चरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँदिल्लीमा यही मे २५ तारिखमा चुनाव छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन ।
न्यायाधिश सन्जीव खन्नाले पाँच वर्षमा एकपटक हुने चुनावमा भोट हाल्न पाउनु र चुनाव प्रचार गर्न पाउनु मौलिक अधिकार भएको भन्दै केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको हो ।
आम आदमी पार्टी (आप)का नेता केजरीवाल मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा ४० दिनदेखि तिहाड जेलमा थिए । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए ।