

विराटनगर, ३१ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाएका हुन ।
मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ३, जसपाको १ सांसदले गरी ५७ जना सांसदले पक्षमा मत दिएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । राप्रपाका ५ जनाले भने तटस्थमा मत हालेका छन् । त्यसआधारमा मुख्यमन्त्री कार्कीले राखेको प्रस्ताव पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे ।
आजको बैठक प्रतिपक्षि दल नेपाली काग्रेसले बहिष्कार गरेको थियो । बैठकमा ६२ सांसद उपस्थित थिए ।
गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा कार्की नियुक्त भएका हुन् । उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियाका विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । उक्त मुद्दाको अन्तिम सुनुवाइको मिति जेठ ९ गतेलाई तोकिएको छ ।