विराटनगर, ४ जेठ । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएपटि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेतृत्व गरेको सरकार १० सदस्यीय भएको छ ।
२७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई राज्यमन्त्री थपेर कार्यविभाजन समेत गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगर र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजेन्द्र कार्कीले पाएका छन् ।
सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती नियुक्त भएका छन् ।
त्यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका छन् ।
बन्दना झागरले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र सिर्जना राईले मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् ।